बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला सुरु

सोमबार, १७ मंसिर २०८१, १६ : ३३

काठमाडौं - काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ।

नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ सुरु भएको सर्टिङ सुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्ने छ । नेपालमा सर्टिङ सुटिङ मेला पहिलो पटक आयोजना गरिएको पनि महासंघले जनाएको छ ।

पाँच महिने मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी दिनेछ । विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकले विश्वास लिएको छ । 

मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । 

‘मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर साबित हुने अपेक्षा गरेका छौँ,’ मेला संयोजक अर्जुन बस्नेतले भने ।  

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरिद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोला प्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत रहेको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ गतेबाट सुरु भएको सर्टिङ सुटिङ वस्तुको मेला २०८२ साल  वैशाख २५ गतेसम्म चल्ने छ ।

सोमबार, १७ मंसिर २०८१, १६ : ३३

प्रतिक्रिया