काठमाडौँ- ३४औँ स्मृति दिवसका अवसरमा आज स्वर सम्राट नारायण गोपालको स्मरण गरिँदै छ । गहकिलो एवं सुमधुर स्वरका धनी नारायण गोपालका सबैजसो गीतहरू श्रोतामाझ लोकप्रिय छन् ।
उनका गीतहरू रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट मात्र होइन युट्युबमा पनि श्रोता, दर्शकले खोजी खोजी सुन्ने र हेर्ने गर्छन् ।
उनै प्रिय गायकको स्मृतिमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । यस अवसरमा नारायण गोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ । नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा कलाकारहरूले नारायण गोपालका गीतहरू गाउने भएका छन् ।
स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान-२०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरुलाई प्रदान गरिँदै छ ।
कोषले विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्र पत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।
वि.सं. १९९६ मा असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिक रत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका स्वर सम्राट नारायण गोपालले दर्जनौँ कालजयी गीत गाएका छन् ।
उनका गायनलाई 'संगीत सम्राट्' को उपाधि प्राप्त छ। उनले आफ्नो जीवनकालमा थुप्रै लोकप्रिय गीतहरू गाएका छन् ।
‘म त लालीगुराँस भएँ छु’, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’,‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘चुमेर पानाभरि’, ‘यो सम्झिने मन छ’, ‘आजै र राति के देखेँ सपना’ लगायत थुप्रै कालजयी गीतहरू श्रोताको मन– मस्तिष्कमा बसेका छन् ।
उनले थुप्रै नेपाली चलचित्रका लागि पनि स्वर दिएका छन् । भारतीय चर्चित गायिकाहरु सँग पनि नारायण गोपालले युगल गीत गाएका छन् ।
प्रतिक्रिया