काठमाडौं - पहाडि क्षेत्रमा चल्ने गाडीहरुमा दुर्घटनाको दर बढ्न थालेपछि कर्णाली प्रदेशमा सवारीसाधनको जाँच गर्न थालिएको छ। सुर्खेत ट्राफिक प्रहरीको अग्रसरतामा मेकानिकल जाँच सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेतबाट दैलेख सडक खण्डमा चल्ने विभिन्न खालका सवारी साधनहरूको मेकानिकल जाँच गरेको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले सवारी साधनको जाँच सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताएका छन्। जाँचको क्रममा ब्रेक, हेडलाइट, टायरको अवस्था, सवारीको लोड क्षमता, र अन्य आवश्यक उपकरणको परीक्षण गरिएको जनाईएको छ । पुरानो र मर्मतसम्भार नगरेका सवारी साधनलाई सडकमा चल्न रोक लगाउने र चालकलाई सचेत गराउने उद्देश्यले गाडी निरिक्षण गर्न थालेको हो। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो चेकजाँचलाई निरन्तरता दिने योजना रहेको प्रहरी निरिक्षक सुनारले बताए ।
चेकजाँचको क्रममा अधिकांस सवारी साधनमा लाईटहरू बिग्रिएको, स्वरुप परिवर्तन गरिएको, केही सवारी साधनको ब्रेकको अवस्था ठिक अवस्थामा नरहेको साथै अन्य समस्याहरू भेटिएको चेकजाँचमा खटिएका मेकानिकल मिस्त्रीलाई उदृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिए।
कर्णालीका सवै जिल्लामा सुर्खेतबाट छुट्ने गाडीहरुको विशेष रुपमा मेकानिकल जाँच क्रमश गरिने प्रहरी निरीक्षक सुनारले बताएका छन् ।
त्यस्तै सुर्खेत काँक्रेविहार यातायात समिति लगायतकाहरुसंग सहकार्यमा ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दैलेख लगायत साविकका कर्णाली जाने गाडीका चालकहरुको स्वास्थ्य जाँच कार्यक्रम समेत गरिएको छ ।
प्रतिक्रिया