ललितपुरमा ‘स्वाइन फिभर’ को संक्रमण बढ्यो, धमाधम मर्न थाले बंगुर

शुक्रबार, २१ मंसिर २०८१, १४ : ४८

ललितपुर- यहाँ पालिएका बंगुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो । 

जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को संक्रमण देखिएको जनाएको छ । महानगरपालिका पशुसेवा विभागले बंगुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बंगुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो । 

कात्तिकको अन्तिम साता नख्खु खोल आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि संक्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनले भने, “रोग फैलिँदै गएको छ । अहिलेसम्मको तथ्यांकका आधारमा किसानका दुई सय भन्दाबढी बंगुर मरेका छन् । अहिले दक्षिणकालीमा संक्रमण बढी देखिएको।”

बंगुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बंगुर मरेका हुन् । 

दुई सयबढी बंगुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताए । “अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बंगुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्छ”, उनले भने, “एकअर्काबीच पनि संक्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्छ । सङ्क्रमण थप नफैलियोस भनेर किसानलाई उचित सल्लाह दिएका छौँ ।” 

बंगुरलाई उक्त संक्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बंगुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताए । उनले भने, “महानगरभित्रका किसानले पालेका बंगुरमा रोग देखिएका छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्ने लागि पहल गरिरहेको छ।”

अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताए । “सुंगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ”, उनले भने ।

गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले संक्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बंगुमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताउनुभयो । “बङ्गुर मर्नेक्रम बढिरहेको छ”, उनले भने, “सङ्क्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवातजावतमा रोक लगाएका छौंँ । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएका छौँ ।”

प्रमुख न्यौपानेले संक्रमण भएमा एक सय चारदेखि एक सय सातडिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिए ।  

शुक्रबार, २१ मंसिर २०८१, १४ : ४८

प्रतिक्रिया