काठमाडौं - क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूका लागि नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।
हालै, संस्थाले जनकपुरधामस्थित ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितहरूलाई ओरेक नेपालका अध्यक्षको अनुरोधमा १४ थान नयाँ न्यानो लुगा प्रदान गरेको हो । यसका साथै, विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यहरूको लागि १० थान जाडोका लुगा वितरण गरिएको छ ।
त्यस्तै, नसिम साफीको आग्रहमा जनकपुरधाम वडा नं. ६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकाहरूका लागि ४० थान ज्याकेट वितरण गरिएको छ । दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. बिपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको हो ।
ज्याकेट वितरण कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, कार्यक्रम संयोजक रञ्जीत झा, कार्यालय सचिव कृष्णकुमार साह, नेपाल-भारत खुला सीमा संवाद समूहका पदाधिकारी धनेश्वर ठाकुर र पारस ठाकुर, मदरसा अध्यक्ष बच्चा राइन, जामा मस्जिद जनकपुरधामका अध्यक्ष हैदर खान, हाजी हुसेन खान लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अध्यक्ष डा. राजीव झा र सचिव मनिष श्रीओमले संस्थाले गर्दै आएका सामाजिक कामहरूको जानकारी दिएका थिए। कोषाध्यक्ष रुबि झाका अनुसार, लुगा वितरण कार्यक्रममा लाभान्वित परिवार र बालबालिकाहरूले अत्यन्त खुसी व्यक्त गरेका छन् ।
क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया