एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा पुस २५ गते

सोमबार, ०१ पुस २०८१, ११ : ४०

काठमाडौं - एनएमबि बैंकले आफ्नो २९औँ वार्षिक साधारण सभा यही पुस २५ गते बिहीबार गर्ने भएको छ। बैंकको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले सभाको मिति तोकेको हो।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १० गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछन्।

सभामा, बैंकले प्रतिशेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव अनुमोदन गराउनेछ। यो प्रस्तावसँगै बैंकको अधिकृत पुँजीलाई २० अर्ब रुपैयाँबाट बढाएर २५ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यस्तै, अग्राधिकार सेयर जारीपछि बैंकको जारी तथा चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँबाट वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरिनेछ।

सभामा बैंकले आफ्नो नियमावली र प्रबन्ध पत्र संशोधन गर्ने, र नियमनकारी निकायबाट आवश्यक सुझाव वा निर्देशन आएमा त्यसलाई समावेश गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ।

यो सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सोमबार, ०१ पुस २०८१, ११ : ४०

प्रतिक्रिया