सिएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न

सोमबार, ०१ पुस २०८१, १५ : ५४

काठमाडौं - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । 

नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालको बदलिंदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने जनाए ।

मुलुकमा उद्यमीहरूका लागि धेरै अवसर रहेको भदै उनले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने बताएका छन् ।

परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उनले बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको जानकारी दिएका छन् ।

सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरुको अनुभव, भोगाई र सिकाई युवा उद्यमीहरूका लागि महत्त्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू संचालन गर्दै आइरहेको छ ।

सोमबार, ०१ पुस २०८१, १५ : ५४

प्रतिक्रिया