काठमाडौँ – कुथेली बुखरी स्मल हाइड्रोपावरले आफ्नो १३औँ वार्षिक साधारणसभा पुस २७ गते नयाँबानेश्वर थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा बिहान १०:३० बजे आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। यसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छन्। बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम पनि रहेको छ।
कम्पनीले आगामी परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रस्ताव स्वीकृत गर्न प्रबन्धपत्रका केही दफा संशोधन गर्ने र नियमनकारी निकायले निर्देशन दिएमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। संस्थापक समूहबाट ५ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज मिति निर्धारण गरिएको छ। यस मितिभन्दा अघिसम्म कायम शेयरधनीहरू मात्र लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। सभामा कम्पनीका आगामी रणनीति, परियोजना र प्रशासनिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया