नेपाल इन्जिनियरिङ कलेजबाट १९२ जना विद्यार्थीको बिदाइ

शनिबार, २० पुस २०८१, १६ : ५९

काठमाडौं - नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरूलाई शनिवार राजधानीमा एक भव्य समारोहवीच बिदाइ गरिएको छ  ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको भव्य कार्यक्रममा विद्यार्थीलाई बिदाइ गरिएको हो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई विभिन्न अवार्डहरू पनि प्रदान गरियो । चेयरम्यान प्राउड (गर्व) गोल्ड अवार्ड, प्रोग्राम टपर अवार्डसहित विभिन्न अवार्डहरू वितरण गरिएको थियो । चेयरमेय गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।  प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रूपमा र बिबेक भण्डारीले पाएका थिए ।

कलेजमा सिभिलतर्फ राजेन्द्र पौडेल र शीतल पाण्डेले ३.९४ अंक प्राप्त गरी दुई जना संयुक्त रूपमा व्याच सर्वोत्कृष्ट भएका थिए । सिभिल एण्ड रुरलमा भने बिबेक भण्डारीले ३.८८ अंक प्राप्त गरी सर्वोत्कृष्ट घोषित भएका थिए । यसका साथै सव्जेक्ट अवार्डलगायत विभिन्न अवार्डहरू पनि कार्यक्रममा वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीले इन्जिनियरहरूका लागि स्वदेशमै राम्रो स्कोप रहेको बताए । यही कारण देशमै बसेर केही गर्न उनले नव आगन्तुक विद्यार्थीहरूलाई सुझाए । यसका लागि राम्रो पढाइका साथै सिप पनि हुनुपर्ने उनले बताए । साथसाथै इमानदारिता, अनुशासनको पनि उतिकै आवश्यक रहेको खाँचो उनले औँल्याए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव मणिराम गेलालले इन्जिनियरिङ क्षेत्रकाले पनि नेपाल सरकारको सचिवसम्म पुग्ने वातावरण भएकाले यस क्षेत्रबाट पनि नेपाल सरकारको उच्च तहसम्म पुग्न सकिने वातावरण रहेको बताए । प्रशासनमा हाल ११ जनामा एक जना इन्जिनियरिङबाट कर्मचारीतर्फ नेपाल सरकारको उच्च पद सचिवसम्म पुग्ने वातावरण रहेको उनले बताए ।

कार्यक्रममा आयोजक कलेजका प्राचार्य एवं एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, सहप्राचार्य एसोसिएट प्रोफेर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्य एवं एवं कलेजका प्रोफेसर सावित्री त्रिपाठीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिए । कार्यक्रमको सभापतित्व सिभिल विभागका प्रमुख रमेश खनाल तथा सिभिल एण्ड रुरलका प्रमुख सञ्जीव विक्रम शाह र साइन्स एण्ड ह्युमिनिटिजका एसोसिएट प्रोफेसर युवराज गैरेले गरेका थिए । कार्यक्रम सञ्चालन कलेजका विद्यार्थी कल्याण शाखाका प्रमुख एसोसिएट प्रोफेसर विष्णुप्रसाद घिमिरेले गरेका थिए ।

नेक नाफा नलिने उद्देश्यका साथ सञ्चालित देशकै उत्कृष्ट इन्जिनियरिङ कलेज हो । यहाँं इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ ।

शनिबार, २० पुस २०८१, १६ : ५९

प्रतिक्रिया