छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

बुधबार, ११ कार्तिक २०८३, १४ : ००

काठमाडौँ - शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ ।

    आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ ।

    विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्याङ्कनमाथि परेका उजुरीमाथिको अध्ययन÷छानबिनबाट पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरावलोकन कार्य रोकिएको थियो । आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ ।

    नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए ।
रासस

बुधबार, ११ कार्तिक २०८३, १४ : ००

प्रतिक्रिया