काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए। उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार ९आइएक्स० मार्फत बिक्री गरिएको थियो।
द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो। बाँकी विद्युत् आइएक्सको डे(अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। चालु आवको भदौमा यस्तो कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले वृद्धि भएको छ।
चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री हुँदै आएको छ।
बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको हो।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ। बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार स्वीकृति प्राप्त आयोजनामा क्षति पुगेपछि हरियाणातर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी० बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै आएको छ।
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया