भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

बुधबार, ११ कार्तिक २०८३, १४ : २६

काठमाडौं- पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको जनाउँदै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।

नेपाल जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ।

प्रतिकूल मौसमका कारण पदयात्रा तथा हिमाल आरोहण गम्भीर रूपमा प्रभावित हुन सक्ने भएकाले पर्यटन विभागले उच्च हिमाली क्षेत्रमा नयाँ यात्रा सुरु नगर्न अनुरोध गरेको छ।

साथै, उच्च हिमाली क्षेत्रमा पुगिसकेका पर्वतारोही तथा पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन र आधिकारिक निकायहरूबाट जारी हुने अद्यावधिक मौसम सूचनाका आधारमा मात्रै आगामी यात्राको योजना बनाउन आग्रह गरिएको छ।

यसैगरी, प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने लेक लाग्ने समस्या ९एक्युट माउन्टेन सिकनेस० लाई ध्यान दिँदै खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थाहरूमा उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायहरूसँग अपिल गरेको छ।

बुधबार, ११ कार्तिक २०८३, १४ : २६

प्रतिक्रिया