भावपूर्ण श्रद्धाञ्जली !

जिल्लाका विशिष्ट व्यक्तिहरुकाे श्रद्धाञ्जलीका साथ पत्रकार पुडासैनीको अन्त्येष्टि

शनिबार, २० पुस २०८१, २० : ४२

काठमाडाैं- हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ । काठमाडौंको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो । शिक्षण अस्पतालमा परीक्षणपश्चात् उनकाे शवलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो ।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए । नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत भएका थिए ।

नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गर्नुभएका उहाँ यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए । 

शनिबार, २० पुस २०८१, २० : ४२

प्रतिक्रिया