मेट्रो काठमाडौं अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

आइतबार, २१ पुस २०८१, १२ : २०

काठमाडौं - मेट्रो काठमाडौं अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच सवारी दुर्घटनामा घाइते भएका व्यवसायीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विशेष सम्झौता भएको छ ।

उक्त सम्झौतामा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश ओली र महासंघको तर्फबाट महासचिव राजेन्द्र विक्रम बाँनियाले हस्ताक्षर गरेका हुन् । महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले महासंघमा आबद्ध व्यवसायीहरूको आकस्मिक अवस्थामा उपचार सहज बनाउन सहमति जनाएको हो ।

सम्झौता अनुसार, दुर्घटनामा परेका बिरामीको उपचार तत्काल सुरु गरिनेछ । बिरामीलाई आकस्मिक कक्षमा भर्ना गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । महासंघले उपचारको लागि आवश्यक कागजात र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी लिनेछ ।अस्पतालले बिरामीको उपचार खर्चमा विशेष छुटको पनि घोषणा गरेको छ । ५ लाखभन्दा कमको उपचार खर्चमा १५ प्रतिशत र ५ लाखभन्दा माथिको खर्चमा २० प्रतिशत छुट दिने सहमति भएको छ ।

त्यस्तै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराइनेछ ।बिमा प्रक्रियालाई सहज बनाउन अस्पतालले आवश्यक कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । महासंघका महासचिव बाँनियाले सम्झौता दुर्घटनापछि व्यवसायीहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण हुने बताए । 

मेट्रो काठमाडौं अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओलीले गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्ने अस्पतालको प्रतिबद्धता दोहोर्‍याएका छन् । सम्झौताले महासंघमा आबद्ध व्यवसायीहरूलाई आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा सहजता ल्याउने विश्वास गरिएको छ ।

आइतबार, २१ पुस २०८१, १२ : २०

प्रतिक्रिया