पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोको प्रकोपमा परेका नागरिकहरुका लाई राहत वितरण । तस्बिरः पानौती नगरपालिका
काठमाडौं - पनौति नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ नगरसभाले बाढीपहिरो प्रभावित केही क्षेत्र तोकेर सम्पत्ति करमा सतप्रतिशत छुट दिने निर्णय गरेको हो ।
गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोमा काभ्रे जिल्लाको पनौती नगरपालिकाले ठूलो धनजनको क्षति व्यवहोरेको थियो । उक्त बाढीपहिरोमा परि १९ जनाको मृत्यु भएको थियो, २५ जना गम्भीर घाइते भएका थिए भने एक जना अझै बेपत्ता रहेका छन् ।
बाढीले करिब ७ हजारभन्दा बढी पशुचौपाया र पंक्षीहरु मरेका थिए भने ५९२ वटा घर पूर्ण क्षति र ४७२ वटा घरमा आंशिक क्षति भएको थियो । यस्तै ४२२ वटा गोठ र टहराहरुमा क्षति पुगेको थियो । नगरपालिकाको समग्र कृषिमा २३ करोड ६४ लाख ४४ हजार बराबरको क्षति व्यहोरेको थियो । 
बाढीपहिरोका कारण कष्टकर जिवन बिताइरहेका नगर बासिलाई राहत होस भनेर हालै नगरपालीकाले नागरिकको सम्पतीकरमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।
नगरले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सतप्रतिशत छुट दिने निर्णय गरेको नगरका सूचना अधिकारी तेज प्रसाद ढकालले जानकारी दिए ।
‘नगर भित्रका बाढीपहिरो पिडितलाई केहि हदसम्म राहत होस् भनेर उक्त निर्णय गरिएको हो,’ उनले भने। ढकालका अनुसार कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगरक्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाडाँगाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन् ।
सम्पत्ति करमा छुट पाउन स्थानियले सम्बन्धित वडामा गई निवेदन दिन पर्नेछ । निवेदन दिए पश्चात वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको किटानी सिफारिस भएपछि मात्र राजस्व छुट पाईने छ ।
यस्तै नगरपालिकाले निर्माणमुखी रोडा–ढुङ्गा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ । चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेको हकमा भने प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा हिसाब मिलान गरिने नगरपालिकाले जनाएको छ ।
उनका अनुसार बाढीपहिरोले पाँच सय ८६ घर पूर्णरूपमा क्षति भएका थियो भने नौ सय ४४ वटा घर उच्च जोखिममा रहेका छन् । बाढीपीडितलाई छुट गराएको सम्पति करले राजस्व संकलनमा ५० लाखको कमी आउने अनुमान गरिएको नगर राजस्व साखाका प्रमुख लक्ष्मण मतान्क्षेले बताए ।
प्रतिक्रिया