काठमाडौंमा एक दिवसीय चीन चलचित्र दिवस सम्पन्न

शुक्रबार, २६ पुस २०८१, ०९ : ३३

काठमाडौं- नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय चीन चलचित्र दिवसको आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहनुभएको समारोहमा बरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली चलचित्र र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरुको साथमा  चिनियाँ फिल्ममेकर र कलाकारको बाक्लो उपस्थिती थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए । उनले भने, ‘यो सांंस्कृतिक संबन्धको उत्सव हो । यसले हामी दुईका चलचित्रमार्फत हाम्रो संबन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिल्ने विश्वास लिएको छु’ । साथै उनले कार्यक्रमले नेपाली चलचित्र क्षेत्रमा अर्को संभावनाको ढोका खोल्ने समेत उल्लेख गरे । 

त्यस्तै आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको  सम्बन्ध ठूलो कुराको लागि एउटा सुरुवाती प्रवेशद्धार रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी संबन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो ।’

चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले भने, ‘हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चाईना र नेपाल बीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ । ’

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन ९डीसीएम० वाङ जिनले हालका बर्षहरुमा चीन चलचित्रहरुका लागि विश्वको ठुलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाँकन भएको सन्दर्भ उल्लेख गर्दै भने, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने संझौता भएको थियो । यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक संबन्धो ६० बर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो । दुई देश बीच उत्सव श्रृंखलाको रुपमा यस चीन चलचित्र दिवस कार्यक्रमले दुई देशका चलचित्र निर्माता बीचको सहयोग आदान प्रदान का लागि प्लेटफर्म प्रदान गर्नेछ’ । 

चलचित्र दिवसमा सहभागीको  लागि १४ सदस्यीय टोलीको नेतृत्व  गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित चलचित्र ‘जी फर ग्याप’ की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जितेकी यु हङ , चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ,  टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत को टोली कार्यक्रममा सरिक भएका थिए । 

क्यूएफएक्स सिनेमाको छाया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्महरु, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रममा फिल्म जी फर ग्यापमा आफ्नो अभिनयले दर्शकहरूमाझ लोकप्रियता कमाएकी गोल्डेन रुस्टर अवार्ड विजेता अभिनेत्री यु होङको समेत उपस्थिति थियो । 

स्क्रिनिङ पछि उनले  आभार व्यक्त गर्दै भनिन्, म यस चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा निकै खुसी छु र मलाई आशा छ कि हाम्रा चलचित्रहरूले दुई देशलाई अझ नजिक ल्याउने विश्वास मैले लिएकी छु ।  चलचित्र प्रदर्शनपछि तीन वटै चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गरिएको थियो । अन्त्रक्रियाका क्रममा उनीहरुले ‘चाइना फिल्म डे’ जस्ता पहलहरूले नेपाल र चीनबीचको सांस्कृतिक खाडललाई कम गर्न र आपसी समझदारीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 

यस्तो कार्यक्रमले दुई देश बीचमा सांस्कृतिक आदान प्रदानमा बढ्ने हुँदा   भविष्यमा थप यस्ता कार्यक्रम हुने बताउँदै आयोजक संस्थाका महासचिव  पुरू लम्सालले  कला र सिनेमामार्फत गरिने  प्रयासहरूले दुवै देशका कलाकार, प्राविधिक एवं दर्शकहरुमा उत्साह भरिने उनले बताए ।

शुक्रबार, २६ पुस २०८१, ०९ : ३३

प्रतिक्रिया