आज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

शनिबार, २७ पुस २०८१, १२ : ११

काठमाडौं - राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती शनिवार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना विस्तार गरेका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदै छ। यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ। प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ। 

 
शनिबार, २७ पुस २०८१, १२ : ११

प्रतिक्रिया