काठमाडौं - नेपालभर माघे सङ्क्रान्ति पर्व धूमधामसँग मनाइँदै छ। सूर्यको धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यो पर्व विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व राख्दछ।
माघ १ गतेको मकर सङ्क्रान्ति पर्व नेपाली समुदायका लागि एक पर्व मात्र नभई स्वास्थ्य, सामाजिक समृद्धि र उन्नतिको प्रतीकसमेत मानिन्छ। यो दिन विशेष गरी सूर्यको उत्तरायणमा प्रवेश गर्ने दिनको रूपमा चिनिन्छ। ज्योतिष शास्त्रअनुसार, सूर्यको उत्तरायण प्रवेशले पृथ्वीको उत्तरी गोलार्द्धमा उज्यालो र गर्मीको प्रारम्भलाई संकेत गर्छ, जसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
तराईवासीहरूको बीचमा माघे सङ्क्रान्ति विशेष नुहाउने पर्वको रूपमा मनाइन्छ। उनीहरूले आजका दिनलाई ुनहानु पर्वको रूपमा मनाउँदै, नदी तथा त्रिवेणीमा स्नान गरेर मन्दिरमा पूजाआजा गर्छन्। यस दिन विशेष गरी घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर पर्व मनाइन्छ। देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई जस्ता प्रसिद्ध धार्मिक स्थलहरूमा स्नान, दान र पूजा अर्चना गर्ने भक्तजनहरूको भीड लागेको छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ कि माघे सङ्क्रान्तिको दिन स्नान र दान गर्दा विशेष फल प्राप्त हुन्छ। विशेष गरी घिउ, चाकु, तिलको लड्डु र सागपात लगायतका परिकारहरूको सेवनले शरीरलाई तागत र ऊर्जा प्रदान गर्छ। यस पर्वमा गुरु, पुरोहित र ब्राह्मणलाई टीका लगाई घिउ, चाकु, तिल र लड्डुसहित सिदा दान गर्ने परम्परा छ।
यस पर्वको अर्को विशेषता भनेको शारीरिक शुद्धता र स्वास्थ्यको महत्त्व हो। शिशिर ऋतुमा हुने माघे सङ्क्रान्तिमा घिउ, चाकु र तिल खानेले शरीरको गर्मीको मात्रा बढाएर तागत प्राप्त गर्छ। यसरी जाडोको मौसममा शारीरिक तागत र स्वस्थताको रक्षा गर्न माघे सङ्क्रान्तिको पर्व विशेष रूपमा मनाइन्छ।
यस पर्वको सांस्कृतिक र धार्मिक महत्त्वले गर्दा विभिन्न नदी र घाटहरूमा स्नान, दान र पूजा अर्चना गर्ने परम्परा नेपाली समाजमा जीवित रहँदै आएको छ।
प्रतिक्रिया