काठमाडौं - तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकाश गरेको हार्डवेयरमा आधारित अत्याधुनिक आपत्कालीन प्रतिक्रिया कन्सोल जडान भई समुद्घाटन भएको छ ।
तारकेश्वर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाहरूले कुनै विपत्ति परेमा निःशुल्क प्रयोग गर्न मिल्ने कताहो एप मार्फत आफूलाई परेको स्वास्थ्य सहायता, सुरक्षा सहायता तथा आगलागीमा नगरपालिकालाई तत्काल सूचना दिन सकिन्छ ।यसको माध्यमबाट आएको सूचनाको आधारमा स्थान पहिचान गरी आपत्कालीन उद्धारको टोली सम्बन्धित व्यक्ति वा स्थानमा पुग्न सकिन्छ ।
यसका अलावा यस प्रणालीको नागरिक आँखा नामक सेवा मार्फत स्थानीय तहले गरेका कामहरूको प्रशंसा समेत गर्न सकिने छ । नगरपालिकाले गर्नु पर्ने कार्यहरूको बारेमा आम नागरिकले सेवा प्रवाहको विषयमा तथा पालिकाभित्रका समस्या, विकाश निर्माण लगायतका कुराहरूमा सूचना तथा गुनासो गर्न सक्नेछन् । यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिधि उत्तरदायित्व समेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णहरी महर्जनज्यू ले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको उद्घाटन गरी नेपालमै पहिलो पटक सुरुवात गर्न पाउँदा अत्यन्तै गर्व लागेको विचार व्यक्त गरे । विपतको समयमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि यसको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए ।
आपत्कालीन अवस्थामा मात्र नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरूलाई समेत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्ने कुरा व्यक्त गरे । पालिका भित्रका कुनै नागरिकले एक्लै परेर सहयोगको आवश्यकता पर्दा यस कताहो एप र ERCमार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुने तथा सहयोगको लागि तारकेश्वर नगरपालिका सदैव रहने प्रतिबद्धता व्यक्त गरे ।
घोषणापत्रमा समेत समावेश भएको घर ठेगाना, टोल, ब्लक, घर नम्बर जस्ता सेवाहरू समेत अविलम्ब लागु गर्दै जाने तयारी रहेको कुरा समेत आजको कार्यक्रममा बताएका थिए । कार्यक्रममा वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगर प्रहरी लगायतको उपस्थिति थियो ।
नेपालमा विभिन्न प्रविधिहरूको अनुसन्धान र विकाश गर्दै आएका नेपालका अनुसन्धानकर्ता राम लक्ष्मण रिमाल ले विकाश गरेको यस प्रणालीको बारेमा उनीहरूबाटै अभिमुखीकरण तालिम समेत प्रदान भएको थियो ।
प्रतिक्रिया