काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हात धोएर लागेका उर्जामन्त्री दीपक खड्कामाथि कार्यकक्षमै हातपात भएको छ । गत शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमै रहेका खड्कालाई एक व्यक्तिले हातपात गरेका हुन् ।
करिब एकसाता बित्न लाग्दा पनि गोप्य रहेको यो घटना बिहीबार मात्रै सार्वजनिक भएको थियो । कांग्रेसका मन्त्रीहरुलाई सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाएर कामको ब्रिफिङ लिने क्रममा खड्काले देउवा समक्ष आफूमाथि हातपात भएको गुनासो गरेका हुन् ।
उनले सिंहदरबार परिसरमै मन्त्रीकै सुरक्षा नभएको भन्दै गुनासो गरेका थिए । सो क्रममा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले घटनाबारे समयमै किन जानकारी नदिएको भन्दै मन्त्री खड्कालाई प्रश्न गरेका थिए ।
मन्त्री खड्काले गोरखाका पोखरेल थरका एक व्यक्तिले आफूमाथि हातपात गरेको बताएका थिए । मन्त्री खड्का पार्टीमा सशांक कोइरालाको कोटाबाट मन्त्री नियुक्त भएका हुन् ।
उर्जामन्त्री नियुक्त भएदेखि खड्का विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउन लागिपरेका छन् । उनले घिसिङमाथि तुष राखेरै प्राधिकरणको कार्यालयमै आफ्नो कार्यकक्ष समेत खडा गरेका छन् ।
प्रतिक्रिया