काठमाडौँ - सरकारले युग सुहाउँदो र जीवनोपयोग शिक्षा प्रदान गर्न नसक्दा विदेशिने विद्यार्थीको संख्या वर्षेनी बढ्न थालेको छ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि रोजगारीको अभावको कारण विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या घटेको छैन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् ।
गत मङ्सिर मसान्तसम्म खुद सेवा आय रू ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भई रू ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू ३४ अर्ब १२ करोड रहेको थियो ।
देशमा रोजगारीको अभाव, काम गर्दै कमाउने अवसर नहुनु, पढेर पनि काम पाउने सुनिश्चितता नहुनु जस्ता कारणहरुले विद्यार्थीहरु घरखेत बेचेर विदेशी विश्वविद्यालयमा जाने प्रवृत्ति बढेको छ । त्यसैले सरकारले विद्यार्थीहरुलाई देशमै बस्ने वातावरण सिर्जना गर्न सक्नुपर्दछ । अन्यथा उत्पादनशील जनशक्तिले देश छोड्दा दीर्घकालीन रुपमा विभिन्न समस्याहरु आउने कुरातर्फ गम्भीर बन्न जरुरी छ ।
प्रतिक्रिया