आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

शुक्रबार, ०४ माघ २०८१, १५ : ३२

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । 

सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरूसँग एक चरण छलफल समेत गरिसकेको छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए । उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत अव आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्य योजना तय गरेको छ । सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ, ।’ 

सर्वसाधारणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए । 

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनर सिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए  । अन्तर्राष्ट्रिय ठुला ठुला कम्पनीको व्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने निवर्तमान अध्यक्ष मल्लको भनाई छ । 

चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाहरूको नवप्रवर्द्धन आईडीया र सोचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा जोड श्रेष्ठले जोड दिए । 

 

 
शुक्रबार, ०४ माघ २०८१, १५ : ३२

प्रतिक्रिया