धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयबीचकाे सहकार्यलाई निरन्तरता दिने सहमति

शनिबार, ०५ माघ २०८१, १० : १८

काठमाडौं- धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बीचको सहकार्यलाई निरन्तरता दिने सहमति जुटेको छ। विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई थप स्पष्ट र सुदृढ गर्दै अघि बढ्ने निर्णय गरेको हो।

सहकार्यलाई व्यवस्थित बनाउन दुई पक्षले जिम्मेवारीलाई स्पष्ट पार्ने सहमति गरेका छन्। “पहिलाको सहमतिमा जिम्मेवारी स्पष्ट नहुँदा समस्या उत्पन्न भएको थियो। अब भने दुवै पक्ष जिम्मेवारी प्रष्ट पार्दै सहकार्यलाई अगाडि बढाउन सहमत भएका छन्,” केयू स्रोतले जानकारी दिएको छ।

विवाद समाधानका लागि राष्ट्रिय योजना आयोगकी सदस्य गीता पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो। समितिमा केयूका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डिन प्रा.डा. ऋषिकेश वाग्ले, र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सहभागी थिए।

धुलिखेल अस्पतालका तर्फबाट पूर्वउपकुलपति प्रा.डा. रामकण्ठ माकजु, डा. विराज कर्माचार्य, र डा. राजीव श्रेष्ठ सदस्यका रूपमा संलग्न थिए।

समितिले दुवै संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा कार्यक्षेत्रलाई स्पष्ट परिभाषित गर्दै अघि बढ्ने सिफारिस गरेको छ। यस सहमतिले दुई संस्थाबीच उत्पन्न असमझदारी अन्त्य गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी परिणाम ल्याउने अपेक्षा गरिएको छ।

शनिबार, ०५ माघ २०८१, १० : १८

प्रतिक्रिया