सिमेन्ट उद्योग र निर्माण व्यवसायीबीच सहमति

आइतबार, ०६ माघ २०८१, १८ : १९

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री श्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री राजन पौडेलको उपस्थितिमा आज नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल निर्माण व्यवसायी महासंघ र अन्य निर्माण व्यवसायीसँग सम्बन्धित चार वटा व्यावसायिक प्रतिनिधिहरूबीच एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।

सहभागी सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरूले सिमेन्टको उत्पादन र आपूर्ति सहज बनाउने बारेमा सहमति जनाएका छन्। सिमेन्ट उद्योगहरूले माग बमोजिम सिमेन्टको आपूर्ति गर्न कटिबद्धता व्यक्त गरेसँगै, उद्योग क्षेत्रमा विद्युत् आपूर्ति कटौती र लोडसेडिङलाई अन्त्य गर्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय गरिएको हो ।

बैठकमा सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले आपसी समस्याहरूको समाधानको लागि समन्वय र समझदारी विकास गर्ने सन्देश दिएका छन्। साथै, औद्योगिक उत्पादन र निर्माण क्षेत्रको विकासमा एक साथ अघि बढ्ने विषयमा पनि छलफल गरिएको छ।

नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले बैठकबाट सहमति कायम भएको जानकारी दिँदै, अब सिमेन्ट उद्योग र निर्माण व्यवसायीहरूबीचको सहयोगले औद्योगिक उत्पादन र विकास कार्यमा थप गति दिने विश्वास व्यक्त गरे।

 
 
आइतबार, ०६ माघ २०८१, १८ : १९

प्रतिक्रिया