मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

मंगलबार, ०८ माघ २०८१, १३ : ४८

काठमाडौं - सङ्खुवासभाको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । 

केन्द्रले सोमबार र मंगलवार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए।   मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् ।

मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडा वडामा आँखा जाँच गरेर मोतिया बिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरूलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताए।

शिविरमा दुई सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । 

 
मंगलबार, ०८ माघ २०८१, १३ : ४८

प्रतिक्रिया