काठमाडाैं- आईसीएफसी फाइनान्स लिमिटेडले रु. ३० करोड बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गरेको छ। यसमा आज माघ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रति इकाइ रु. १,००० अंकित दरका ३ लाख इकाइ ऋणपत्र जारी गरेको हो।
कुल ३ लाख इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको छ। सार्वजनिक निष्कासन अन्तर्गत ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारणले न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा ७ वर्षे अवधि तोकिएको छ र लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको यो ऋणपत्रमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा तथा सीडीएससीको मेरो शेयर प्लेटफर्म प्रयोग गर्न सकिनेछ।
ऋणपत्र निष्कासन छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपश्चात् बन्द हुनेछ। सुरक्षित, स्थिर ब्याज आय चाहने लगानीकर्ताका लागि यो ऋणपत्र आकर्षक अवसर बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया