देशभक्त छोरो मर्दा देशै रूँदो रैछ : बागलुङमा रामजीप्रसाद शर्माप्रति अन्तिम श्रद्धाञ्जली

शुक्रबार, ११ माघ २०८१, ०८ : ३७

काठमाडाैं- देशभक्तिको उज्यालो दीप सावधानीपूर्वक बालेर अघि बढाउने कुशल नेता अस्ताए। पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको आकस्मिक निधनले सम्पूर्ण देशलाई शोकमग्न बनाएको छ। भारतमा उपचारकै क्रममा दिवंगत शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा सशस्त्र प्रहरी बलको शोक सलामीसहित सम्मानपूर्वक अन्त्येष्टि गरियो।

उनको अन्तिम यात्रामा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ शोकाकुल अनुहारहरूले श्रद्धाञ्जली अर्पण गरे। "नेपाली राजनीतिक आन्दोलनले एक असल र निष्ठावान नेतालाई गुमाएको छ," पूर्वप्रधानमन्त्री नेपालको शब्दमा दुःखको गहिराइ झल्किन्थ्यो। "देशभक्त छोरो मर्दा देशै रूँदोरैछ" भन्दै उनले जेबी टुहुरेको गीत सम्झँदै स्व. शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।

रामजीप्रसाद शर्मा मात्र नेता थिएनन्; उनि एक विचारवान, निष्ठावान र क्रान्तिकारी योद्धा थिए। २०६४ सालमा बागलुङ–१ बाट संविधानसभा सदस्य निर्वाचित उनि ऊर्जा राज्यमन्त्रीका रूपमा देश विकासको सपना बोकेर अघि बढेका थिए। नेकपा (माले) स्थापना र पञ्चायतविरोधी आन्दोलनमा उनले गरेको योगदान अमूल्य छ। गोविन्द अधिकारी, मोहनलाल शर्मा, र नरबहादुर थापाजस्ता सहकर्मीहरूसँग मिलेर बागलुङलाई क्रान्तिको केन्द्र बनाउन उनले खेलेको भूमिका सदा स्मरणीय छ।

राजनीतिमा मात्र होइन, शर्माको जीवन सरल, समर्पित र सेवा भावले भरिपूर्ण थियो। कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा उनले बागलुङको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याएका थिए। धवलागिरि इञ्चार्जदेखि पार्टी केन्द्रीय सदस्यसम्मका भूमिकामा उनको योगदान अतुलनीय छ।

पूर्वप्रधानमन्त्री नेपालले शर्माको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनको योगदानलाई संसद्मा श्रद्धासहित सम्मान गर्नुपर्ने धारणा राखे। "व्यक्तिको जीवन नश्वर हो, तर उसका कर्म र योगदान अमर रहन्छन्," उनको वाणीमा समर्पण र सम्मान झल्किन्थ्यो।

दुई छोरा, एक छोरी, र श्रीमतीसहितको परिवारलाई छोडेर शर्माको अकालप्राप्त निधनले एउटा युगको अन्त्य गरेको अनुभूति भएको छ। मिर्गौला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माले उपचारकै क्रममा देह त्याग्नुभयो। उनका योगदानले मात्र होइन, उनको सरल व्यक्तित्वले जनताका मनमा गहिरो स्थान बनाएको थियो।

देशका लागि समर्पित योद्धा शर्मा अमर छन्। उनको बलिदान, योगदान, र नेतृत्वले नेपाली जनताको स्मृतिमा सदैव ज्योति बन्नेछ। "देशभक्त छोरो मर्दा देशै रूँदोरैछ," यो वाणीले देशप्रेमको भावनालाई झन् प्रगाढ बनाएको छ।

शुक्रबार, ११ माघ २०८१, ०८ : ३७

प्रतिक्रिया