जनतालाई अनुभूत हुने गरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ: सञ्चारमन्त्री गुरुङ

शनिबार, १२ माघ २०८१, १३ : ३३

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुने गरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए । देश विकासका लागि दुई ठुला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए  ।

उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।” सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्ने गरी सरकार काममा लागेको बताए।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐन कानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट गरे । संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन  ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो । 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले फरक प्रसङ्गमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताए ।

शनिबार, १२ माघ २०८१, १३ : ३३

प्रतिक्रिया