व्यावसायिक स्याउ खेती विस्तार गर्न कृषि प्राविधिकलाई तालिम

शनिबार, १२ माघ २०८१, १७ : ३३

काठमाडौं - स्याउखेतीलाई व्यावसायिक बनाउने उद्देश्यले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कृषि प्राविधिकलाई बगैँचा व्यवस्थापन तथा काँटछाँटसम्बन्धी तालिम प्रदान गरिएको छ । हिमाली जिल्ला जुम्लामा पहिलो पटक ‘स्याउ बगैँचा व्यवस्थापन’ विषयमा कृषि अधिकृत र सहायक स्तरीय प्राविधिकलाई तीन दिने तालिम प्रदान गरिएको हो । 

जुम्लास्थित कृषि अनुसन्धान केन्द्रका प्रमुख डा. नवराज आचार्यले कर्णालीलाई अर्ग्यानिक स्याउ उत्पादनको प्रमुख क्षेत्र बनाउने उद्देश्यले कृषि प्राविधिकलाई तालिम प्रदान गरिएको बताउँदै यसले स्याउ उत्पादक किसानलाई सहजीकरण गरेको विश्वास व्यक्त गरे । “गुणस्तरीय उत्पादन गर्न सके यहाँको स्याउलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ”, उनले भने ।
 
तालिममा सिकाइएका विषय व्यवहारमा लागू गरे स्याउखेतीले नयाँ गति लिने आचार्यको भनाइ छ । पछिल्लो समय स्याउ खेती गर्ने किसानको सङ्ख्या बढ्नुका साथै खेती विस्तार भए पनि ज्ञान र सीपको अभावले उत्पादनमा कमी आइरहेको छ । 

व्यावसायिक खेती गर्दा मल व्यवस्थापन, सिँचाइ, बिरुवा काँटछाँट र रोगकीरा नियन्त्रणका विधिका बारेमा सिक्नु जरुरी रहेको कृषि विकास कार्यालय डोल्पाका कृषि अधिकृत महेन्द्र मल्लले बताए । सोही अनुसार तालिमबाट स्याउखेतीका बारे प्राविधिक सीप सिकेको भन्दै यहाँ सिकेका विषय किसानसम्म पुर्‍याइने उनले जानकारी दिए ।

कर्णाली प्रदेश स्याउखेतीका लागि उर्वर सम्भावना रहेको क्षेत्र भएको जनाउँदै बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रणलगायत विविध ज्ञानको अभावमा उत्पादनमा कमी आएको परियोजना कार्यान्वयन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत दिनेशप्रसाद सापकोटाले बताए। यहाँबाट सिकेको ज्ञान, सीप किसानसम्म पुर्‍याएर प्राविधिक रूपमा अपनाउनुपर्ने विधिका बारेमा जानकारी गराइने उनले उल्लेख गरे। कर्णालीको स्याउलाई राष्ट्रिय ‘ब्रान्ड’का रूपमा स्थापित गर्न उत्पादनको गुणस्तर र ‘ग्रेडिङ’लाई अनिवार्य गर्नुपर्ने आवश्यकता रहेको तालिममा सहभागी कृषि प्राविधिकको भनाइ छ ।

वरिष्ठ कृषि अधिकृत सापकोटाले खेतीको विस्तारसँगै बजारीकरणमा समेत ध्यान दिँदै सरकारको नीतिगत पहल आवश्यक रहेकामा जोड दिए। जुम्लाको सिञ्जा गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मनिषा बुढाले परम्परागत स्याउखेतीले अपेक्षित प्रतिफल नदिएपछि किसानलाई आधुनिक खेतीबारे ज्ञान आवश्यक रहेकामा जोड दिए । उनका अनुसार तालिममा बगैँचा व्यवस्थापनको उपयुक्त समय र विधिका बारेमा विस्तृत जानकारी प्राप्त भएको छ । 

स्याउखेतीको प्रभावकारिता बढाउन यो तालिम सहयोगी बनेको कनकासुन्दरी गाउँपालिका कृषि विकास शाखा प्रमुख रत्नबहादुर घर्तीले धारणा राखे । नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले तालिमलाई औपचारिकतामा मात्र सीमित नगरी व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । परियोजना व्यवस्थापन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार जिल्लामा पाँच हजार दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । यस वर्ष स्याउ निर्यातबाट रु ६१ करोड आम्दानी भएको छ । तालिमले स्याउको उत्पादन वृद्धिमा सहयोगी भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । स्याउ बगैँचा व्यवस्थापन तालिमले स्याउखेतीलाई थप आधुनिक, व्यवस्थित र व्यावसायिक बनाउन टेवा पुग्ने अपेक्षा राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ जुम्लाले जनाएको छ । 

जुम्लासहित कालीकोट, मुगु, हुम्ला, डोल्पा, अछाम, दार्चुला र सुर्खेतका कृषि प्राविधिकलाई यही माघ ८ गतेदेखि ११ गतेसम्म जुम्ला सदरमुकाम खलंगामा तालिम प्रदान गरिएको थियो ।  तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर गाउँ गाउँमा स्याउखेतीमा किसानको आकर्षण बढाउँदै प्रभावकारी र गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउने सहभागी कृषि प्राविधिकले बताएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ, खुमलटार (ललितपुर), परियोजना समन्वय एकाइ (सुर्खेत) र परियोजना कार्यान्वयन योजना जुम्लाको संयुक्त आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको थियो ।  

शनिबार, १२ माघ २०८१, १७ : ३३

प्रतिक्रिया