फाेटाे : रासस
काठमाडाैं- पूर्वी नेपालमा सदियौँदेखि याक्थुङ (लिम्बू) जातिको आत्मा र पहिचान बोकेको धाननाच आज लोपोन्मुख अवस्थामा पुगेको छ। सांस्कृतिक गरिमा र ऐतिहासिक महत्त्वले भरिएको यो नृत्य मात्र मनोरञ्जनको साधन नभई सामुदायिक एकता, प्रेम, र परम्पराको जीवन्त अभिव्यक्ति हो। सुखदुःखका अवसरहरू, मेलाहाट, पर्व तथा उत्सवहरूमा गोलाकार घेरा बनाई पालाम गाएर नाच्ने यो प्राचीन परम्परालाई आजको पुस्ताले बिर्सिँदै जानु दुःखद् यथार्थ बनेको छ।
किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनका अनुसार, कुनै समय मेलाहाट, विवाह, बर्खान्तजस्ता जमघटमा मात्र नभई युवायुवतीले भाका राखी निश्चित स्थानमा भेटेर पनि धाननाच गर्थे। परन्तु, समयको रफ्तारसँगै यो नाच अब स्टेज कार्यक्रम र भिडियोमा सीमित भएको छ। अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले यस नृत्यको महत्त्वलाई व्याख्या गर्दै भने, “धाननाच केवल नृत्य नभई याक्थुङ समुदायको आत्मसम्मान र सांस्कृतिक गौरव हो।”
धाननाचको क्रममा पालाम गाउने प्रचलन छ, जसमा सृष्टि उत्पत्तिदेखि मानव सभ्यताको विकासक्रम, मुन्धुमका प्रसङ्ग र मायापिरतीका भावनाहरू झल्काइन्छ। पालाम गाउने क्रममा केटा-केटी पक्षबीच सवाल-जवाफ हुँदै मायाको सूत्रपातसमेत हुने उदाहरण आज पनि पाइन्छ।
कृषि युगमा प्रवेशसँगै धाननाचको प्रारम्भ भएको विश्वास गरिन्छ। मुन्धुममा उल्लिखित कथन अनुसार, फाङ्भङना नामक चरा घैया धानको बीउ लिएर आएपछि खेतीको आरम्भ भएको थियो। तर, चराहरूले पाकेको अन्न खाइदिन थालेपछि मानिसहरूले गोलो घेरा बनाई धान कुल्चने (या?लाक्) प्रचलन बसाले। यही प्रक्रिया क्रमशः धाननाच (या?लाङ्) मा परिणत भयो। खलामा युवायुवती भेला भएर ‘छुई हा.. हा..’ भन्दै गाउने पालामले धाननाचलाई झन् आकर्षक बनाउँथ्यो।
अहिले पाश्चात्य संस्कृतिको तीव्र प्रभावले याक्थुङ समुदायका युवाहरू आफ्नो मौलिक संस्कृतिबाट टाढा भइरहेका छन्। लामो समयदेखि धाननाच संरक्षण अभियानमा लागेकी राधा फोम्बोले भनिन्, “धाननाच मात्र नृत्य होइन, यो याक्थुङ जातिको पहिचान हो। यसको लोपसँगै हाम्रो सांस्कृतिक सम्पदा पनि हराउने छ।”
याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवाले वर्तमान पुस्तालाई आफ्नै मौलिक संस्कृति र सम्पदाको संरक्षणमा जुट्न आग्रह गरे। “धाननाच हाम्रो आत्मा हो। यसलाई बचाउन नसके हामी हाम्रो पहिचान गुमाउनेछौँ,” उनले भने।
सांस्कृतिक चाडपर्व, परम्परा, र यथार्थको कथा बोकेको धाननाचलाई पुनर्जीवित गर्ने र यसलाई पुस्तान्तरण गर्ने प्रयास तत्कालै सुरु गर्नुपर्छ। मौलिकताको यो प्रतीक केवल याक्थुङ समुदायको नभई सम्पूर्ण नेपाली पहिचानको अंश हो। धाननाच बचाउनु भनेको हामी सबैको गौरव बचाउनु हो।
प्रतिक्रिया