फाेटाे : रासस
काठमाडाैं- हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका सपनासँगै खेतबारीमा थुपारेको बालुवा, गिट्टी र ढुंगाको अंबार पन्छाउने काम सुरु गरेको छ। बाढीले खेतलाई खण्डहरमा परिणत गरेपछि खेतीयोग्य जमिन पुनः फस्टाउने आशामा स्थानीय किसानले राहत महसुस गरेका छन्।
सुनकोशीले स्याहार्नु पर्ने खेतलाई थुप्रोमा परिणत गर्दा वडा नं २ डिकुवा, वडा नं ८ धितुङ, र वडा नं ११ राजापानीका करिब १५० घरका किसानको दुई सय ५० रोपनीभन्दा बढी जमिन उपयोगविहीन बनेको थियो। भाडबेँसीमा मात्र ६० घर परिवारको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले पुरेको दृश्यले स्थानीयवासीको आँखा रसाएको थियो।
भीषण बाढीले राजापानीका ३१ घर किसानलाई पूर्ण रूपमा क्षति पुर्याएको भन्दै नगरपालिकाले गत असोजमै प्रति परिवार रु सात हजारको राहत प्रदान गरेको थियो। आंशिक क्षति भएका किसानका खेतबारीमा थुप्रिएको गेगर हटाउन जेसिबी लगाएर काम सुरु गरेको नगरप्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
“सुनकोशीले बाढी ल्याउँदा एउटा किसानको १५–२० रोपनीसम्म जमिन पुरिएको देख्दा हाम्रो मन भारी भएको छ,” नगरप्रमुख विमला राईले भनिन्,“हामीले तत्काल राहतको रूपमा केही सहयोग गर्यौं। अब किसानले पुनः खेती गर्न सक्ने वातावरण बनाउन नगरपालिकाले जेसिबी तथा डिजेलको व्यवस्था गरेर गेगर हटाउने काम थालेका छौँ।”
नगरपालिकाले पहिलो चरणमा भाडबेँसीमा काम थालेको छ। रेग्मीटार हुँदै अन्य प्रभावित क्षेत्रका खेतबारीमा पनि गेगर हटाउने प्रक्रिया सुरु हुनेछ। विस्थापित किसानको खेत पुनः हरियाली बनाउने अभियानमा नगरपालिकाले दत्तचित्त भएर काम गरिरहेको छ।
बाढीले घर, गोठ, र विद्यालयमाथि पनि ठूला घाव पारेको छ। दर्जनौँ परिवार आफ्नो सम्पूर्ण सम्पत्ति गुमाएर छिमेकी, विद्यालय, र सार्वजनिकस्थलमा आश्रय लिएर दसैँ मनाएका थिए। उनीहरूका लागि नगरपालिकाले दाल, चामल, नुनतेल, कम्बल र तन्ना उपलब्ध गराएको भए पनि स्थायी पुनर्स्थापना अझै चुनौतीपूर्ण देखिएको छ।
नगरप्रमुख राईले थपिन्, “सुनकोशी किनारमा बाँध निर्माणको आवश्यकता छ। तर यो काम नगरपालिकाको क्षेत्राधिकारभन्दा बाहिरको हो। त्यसका लागि माथिल्लो निकायमा सिफारिस गरिसकिएको छ। अहिलेको हाम्रो मुख्य लक्ष्य किसानलाई खेतीयोग्य वातावरण दिनु हो।”
सुक्खा क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा बाढीको यो कहरले स्थानीयको जिन्दगीमा कालो छायाँ छरेको भए पनि नगरपालिकाको प्रयासले किसानको मनमा आशाको बीऊ रोप्न थालेको छ। खेती योग्य जमिनलाई फेरि उर्बर बनाउन नगरपालिकाले थालेको यो अभियान किसानहरूको जीवनमा नयाँ ऊर्जा र समृद्धिको किरण बन्नेछ।
प्रतिक्रिया