रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या

आइतबार, १३ माघ २०८१, १७ : ०४

काठमाडौं - स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।
      
स्थानीय लाङटाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । 

अब स्थानीय स्तरमा परामर्शसहित बिरामीको उपचार व्यवस्था गरिने र जिल्लामा उपचार सम्भव नहुने देखिए जोखिमको अवस्था हेरी काठमाडौंसहित अन्यत्रका विशिष्टीकृत अस्पतालमा पठाइने नीति रहेको अस्पतालले स्पष्ट गरेको छ । यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विशेषज्ञ डा पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।
 
सञ्चालक डा. तामाङका अनुसार स्थानीय जनतालाई लक्षित गरी निजी क्षेत्रबाट खोलिएको सो अस्पतालले हालसम्म जिल्लाको एक हजार पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्योपचार गरिसकेको छ ।विशेष गरी ग्रामीण भेगका महिलाले आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पतालसमेत नजाने गरेका सन्दर्भमा महिला चिकित्सकबाटै आवश्यक परामर्शसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
           
यसै गरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको सङ्केत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथाशक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।    
 

आइतबार, १३ माघ २०८१, १७ : ०४

प्रतिक्रिया