फाेटाे : रासस
काठमाडाैं- चन्द्रागिरि नगरपालिकाले प्रविधिलाई साथी बनाउँदै नागरिक सेवा सहज बनाउने यात्रामा ठूलो फड्को मार्दै काठमाडौं उपत्यकाभित्र पहिलोपटक नागरिकताको अनलाइन सिफारिस सेवाको थालनी गरेको छ। सोमबार वडा नं. १२ बलम्बुबाट सुरु गरिएको यो सेवा नागरिकतासँग सम्बन्धित झन्झटलाई हटाउँदै डिजिटल युगतर्फको सशक्त कदम हो।
नगरप्रमुख घनश्याम गिरी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। गृहमन्त्रालयको समन्वय र सहकार्यमा नगरपालिकाका कार्यपालिका सदस्य तथा १५ वटै वडाका सचिवहरूलाई यसअघि नै आवश्यक तालिम प्रदान गरिएको थियो।
गृहमन्त्रालयले यसअघि पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडामा अनलाइन सिफारिस सेवा सुरु गरेको जानकारी दिएको थियो। यो सेवा विसं २०८० मा नवलपरासीको गैँडाकोटबाट सुरु गरिएको हो, जसले समग्रमा नागरिकतासम्बन्धी प्रक्रियालाई थप सहज बनाउने उद्देश्य राखेको छ। चन्द्रागिरि नगरपालिकाले पनि यही हप्तादेखि आफ्ना सबै वडामा यो सेवा विस्तार गर्ने जनाएको छ।
नगरप्रमुख गिरीले नगरपालिकाले प्रविधिमैत्री सेवा प्रदान गर्ने नीतिअन्तर्गत अहिले नक्सापास, राजस्व, पञ्जीकरणलगायतका सेवा अनलाइनमार्फत उपलब्ध गराउँदै आएको बताए। "हामी छिट्टै विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) पनि लागू गर्दैछौँ," उनले भने।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिसले सेवाग्राहीलाई झन्झटमुक्त सेवा दिने मात्र नभई अशुद्ध नाम, थर र ठेगानाका त्रुटि पनि अन्त्य गर्ने बताए। "अन्य सेवाहरू पनि अनलाइन प्रणालीमा जोड्दै लैजाने योजनामा छौँ," उनले थपे।
कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिसँग अभ्यस्त हुनुपर्ने बताइन्। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले चन्द्रागिरि नगरपालिकाले उपत्यकामा पहिलोपटक यो सेवा सुरु गरेकामा प्रशंसा गर्दै अन्य पालिकाहरूमा पनि यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार अनलाइन सिफारिस सेवाले वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि प्रक्रियालाई थप सहज बनाएको छ। चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले यो सेवाले सेवाग्राहीलाई समय र झन्झट दुवैबाट राहत दिएको बताए।
डिजिटल नेपाल निर्माणतर्फको यो प्रयासले चन्द्रागिरि नगरपालिकालाई प्रविधिमा अगाडि बढाएको मात्र होइन, नागरिकलाई झन्झटरहित सेवा प्रदान गर्दै स्थानीय सरकारलाई आधुनिक सेवाको नमुना बनाएको छ।
प्रतिक्रिया