फाेटाे : रासस
काठमाडाैं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस) जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बिहान राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीसँग भएको भेटवार्तामा उनले राससको विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री शाहले राससले यथार्थपरक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै जनतामाझ विश्वास निर्माण गरेको उल्लेख गर्दै भने, “राससलाई नयाँ मोडेलमा लैजान व्यवस्थापनले गरिरहेको प्रयासमा प्रदेश सरकार सघाउनेछ।” उनले सरकारले सञ्चारमाध्यमलाई केवल सूचना सम्प्रेषणको साधनमात्र नभई सरकारका नीतिहरू सच्याउन सचेत गराउने माध्यमका रूपमा पनि हेर्ने धारणा राखे।
मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा समाचार सम्प्रेषण गर्न रासससँग सहकार्य गर्ने इच्छा व्यक्त गरे। साथै, धनगढीस्थित रासस कार्यालय भवन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी पनि दिए।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले धनगढीमा निर्माणाधीन रासस भवनलाई पत्रकारिता प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा प्रदेश सरकारको सहयोगका लागि आग्रह गरे। उनले राससलाई प्रदेश सरकारको सूचना संयन्त्रका रूपमा विकास गर्न सकिने बताउँदै अवधी, मैथिली लगायतका भाषामा समाचार सम्प्रेषण भइरहेको जानकारी दिए। साथै, उनले भाषा र संस्कृतिको संरक्षणका लागि डेटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे।
कार्यकारी अध्यक्ष झाको नेतृत्वमा रासस उपसम्पादक सिद्धराज भट्ट, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहलगायत सहभागी टोलीसँगको छलफलले प्रदेश सरकार र राससबीच सहकार्यको संभावना थप बलियो बनाएको छ।
यस प्रकार, लोकतन्त्रको संरक्षण, भाषा-संस्कृतिको प्रवर्द्धन र सूचना प्रसारणमा राससले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ प्रदेश सरकार र राससबीच सहकार्यका नयाँ आयामहरू खोल्ने वातावरण सिर्जना भएको छ।
प्रतिक्रिया