काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र आपत्कालीन अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा उच्च प्राथमिकता दिएको छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको छ। अब गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।
विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, र २०८० साल कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा विश्वभर प्रशंसनीय बनेका छन्। यी अनुभव र सिकाइलाई विश्व स्वास्थ्य सङ्गठनले अन्य देशहरूमा पनि लागू गरिरहेको बताइएको छ। यसै सन्दर्भमा, मन्त्रालयले द्रुत प्रतिकार्य टोली र आपत्कालीन चिकित्सकीय समूह परिचालन गर्न निर्देशिका २०७९ जारी गरेको छ। यो निर्देशिका अनुरूप अस्पतालहरूलाई हब र स्याटेलाइटमा वर्गीकरण गर्दै विपद्का समयमा समयमै रोगको पहिचान, रोकथाम, र उपचार गर्न तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
तालिम विश्व स्वास्थ्य सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ। यस तालिममा अस्पतालहरूमा कार्यरत जनशक्तिको परिचालन, जिम्मेवारी निर्धारण, र आपत्कालीन सेवाको सुधारका लागि आवश्यक उपायहरू सिकाइएको छ। यस क्रममा सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल, ट्रमा सेन्टर, हेटौँडा अस्पताल, गोरखा अस्पताल, र जिपी कोइराला श्वासप्रश्वास अस्पतालका स्वास्थ्यकर्मीका लागि आयोजित तालिम सोमबार सम्पन्न भएको छ।
तालिममा डा. नवीन फुयाँल, डा. विज्ञान प्रजापति, डा. मनिसा सेन, डा. अमित सिंह, डा. गौरव देवकोटा, र डा. सविता पौडेलले सहजीकरण गरेका थिए। तालिम समापनको अवसरमा आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. बुढाथोकीले जनस्वास्थ्य आपत्काल व्यवस्थापनलाई थप सुदृढ बनाउन विषयगत समितिबाट निर्देशिका जारी गर्न सहमति भइसकेको जानकारी दिए।
तालिमले विपद् र आपत्कालीन अवस्थामा स्वास्थ्यकर्मीको प्रभावकारी भूमिकालाई अझ चुस्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउन यस प्रकारका तालिमलाई निरन्तरता दिने योजना बनाएको छ।
प्रतिक्रिया