अमेरिकामा ट्रम्पको आगमनले नेपालमा सुनचाँदीको मूल्यमा उतारचढाव

मंगलबार, १५ माघ २०८१, १८ : ०३

काठमाडौं - हाल नेपाली बजारमा सुनचाँदीको मूल्यमा अस्वाभाविक उतारचढाव आइरहेको छ । सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँग जोडिएको छ । चुनावी अभियानका क्रममा ट्रम्पले रुस र युक्रेनबीचको युद्ध एक दिनमै अन्त्य गराउने कुरा पटकपटक गरेका थिए । साथै इजरायल र प्यालेस्टाईन बीचको युद्ध पनि अब नहुने बताएका थिए ।

जसको प्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्रमा देखिएको छ । गत साता मात्रै राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा प्रवेश गरेका छन् । उनको कार्यकाल सुरु भएसँगै विश्व बजारमा सुनचाँदीको मूल्यमा अस्वाभाविक परिवर्तन आएको नेपाल सुनचाँदी व्यवसायी संघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेसँगै सुनचाँदीको मूल्यवृद्धि भएको थियो । 

साथै फेब्रुअरी १ देखि चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने बताएपछि बजारमा झनै उतारचढाव हुन थालेको हो । अमेरिका र चीनबीचको व्यापारमा गिरावट आउने संकेत देखिएपछि अन्तर्राष्ट्रिय स्तरमै सुनचाँदी व्यावसायीहरुले सुनमा लगानी बढाएपछि मूल्यमा उतारचढाव आएको संघका प्रथम उपाध्यक्ष बज्राचार्यको भनाई छ । राष्ट्रपति ट्रम्पको कार्यकाल सुरु भएसँगै माघको दोस्रो साता नेपाली सुनचाँदी बजारमा घटबढ सुरु भएको छ । दोस्रो साताको अन्तिम दिन १ लाख ६० हजारमा कारोबार भएको थियो । 

तेस्रो सातामा भने कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन मंगलबार ९०० रुपैयाँले घटेर १लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

ट्रम्पले दिएका अभिव्यक्तिहरू नकारात्मक हुँदा सुनचाँदीको मूल्यमा वृद्धि हुने र सकारात्मक भएमा मूल्य केही यथावत रहन सक्ने बज्राचार्यको धारणा छ । नेपाल सुनचाँदीका लागि सिजनल बजार भएकाले सुनचाँदीको मूल्य वृद्धि हुँदा पनि कहिले व्यापार बढ्ने गरेको र कुनै कुनै दिन भने मूल्यमा गिरावट हुँदा पनि ग्राहक नबढ्ने गरेको प्रथम उपाध्यक्ष बज्राचार्यले बताए । 

साथै मूल्यवृद्धिको विषय संघको हातमा मात्रै निहित नहुने हुनाले पहिले सुसूचित गराउन भने नसकिने उनको भनाई छ । यसबाहेक ट्रम्पले लिएको अमेरिका फस्ट अर्थात् अमेरिका पहिला भन्ने नीतिका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेकोले पनि सुनचाँदीको मूल्यमा उतारचढाव आएको देखिन्छ ।

मंगलबार, १५ माघ २०८१, १८ : ०३

प्रतिक्रिया