महाकुम्भ मेलामा भागदौड: १४ जनाको मृत्यु, स्नान स्थगित

बुधबार, १६ माघ २०८१, ०९ : २०

काठमाडाैं- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति संगम तटमा भागदौड मच्चिँदा १४ जनाले ज्यान गुमाएका छन्। स्थानीय समयअनुसार राति करिब १ः३० बजे मेलास्थलमा आकस्मिक भागदौड मच्चिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार भीडभाडका क्रममा केही महिलाहरू भुइँमा लडेपछि उनीहरूलाई कुल्चिँदा घटनाले उग्र रूप लिएको थियो। घाइते तथा मृतकहरूलाई तत्कालै अस्पताल पुर्‍याइएको छ। प्रशासनले भने हालसम्म मृतक तथा घाइतेहरूको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।

घटनापछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज हुने भनिएको मौनी अमावस्याको पवित्र स्नान स्थगित गरेका छन्। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन संवाद गरी घटनाको विवरण लिएका छन्।

महाकुम्भ मेलाको संगम तटमा यस्तो आकस्मिक भागदौड मच्चिनुमा सुरक्षाको कमजोरी कारण भएको आशंका व्यक्त गरिएको छ। मेलास्थलमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने प्रशासनले घटनाको गहिरो छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

बुधबार, १६ माघ २०८१, ०९ : २०

प्रतिक्रिया