काठमाडाैं- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समिति र टीका साहित्य समाजको सहकार्यमा माघ १७ गते आयोजित कार्यक्रममा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्किएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भएको राष्ट्र भएकाले विभिन्न जातीय समुदायका पर्वहरूको संरक्षण आवश्यक रहेको बताए। उनले तामाङ समुदायको सोनाम ल्होछार महत्त्वपूर्ण चाड भएको उल्लेख गर्दै यसको निरन्तरता र प्रवर्द्धनका लागि प्रदेश सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पालिकामा रहेका विभिन्न समुदायका कला, संस्कृति र परम्पराहरूको संरक्षणका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। उनले तामाङ समुदायको सोनाम ल्होछारसँगै माझी समुदायको लदि पर्व, मगर समुदायको मागे संक्रान्ति, गुरुङ समुदायको तमु ल्होछारलगायतका संस्कृतिहरूलाई प्रवर्द्धन गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा तामाङ घेदुङका पूर्व महासचिव काजिमान गोले, अध्यक्ष लिला कुमार घलान, मिना पाख्रीन, दैबलाल घिसिङ, शेखर लामा, चित्र गोले, राजन अधिकारी, निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, प्रेम थोकरलगायतका व्यक्तित्वहरूले मन्तव्य राखेका थिए।
कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो। गायक फुल कुमार बम्जन, गायिका लक्ष्मी स्याङ्तान, मोडल अबिना गोले, गायक तथा मोडल गणेश जिम्बा, चेतन लामा, डान्सर रुजा लामा, जेनिशा स्याङ्तान, लोकदोहोरी गायक डिएन दाहाल, कवि टीका थिङलगायत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।
सोनाम ल्होछार २८६१औं डुल (सा पुख्री) ल्हो माघ १७ गते परेको छ। खानीखोला गाउँपालिकाले यो चाडको महत्त्वलाई ध्यानमा राख्दै कार्यपालिका बैठकमार्फत माघ १६, १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
खानीखोला तामाङ घेदुङका अध्यक्ष नर बहादुर थिङका अनुसार हरेक वर्ष तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार धुमधामसँग मनाइँदै आएको छ। यस वर्षको कार्यक्रम थप व्यवस्थित र भव्य रूपमा सम्पन्न भएको र भविष्यमा पनि समुदायको एकता र पहिचान जोगाउन यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रम खानीखोला गाउँपालिका वडा नं. ५, तालढुङ्गा बजारस्थित बस पार्क प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कवि तथा साहित्यकार टीका थिङले गरेका थिए।
तामाङ समुदायको ऐतिहासिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार खानीखोलामा भव्य रूपमा सम्पन्न भएको छ। यसले समुदायको पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरू बताउँछन्
प्रतिक्रिया