युवाहरूको उद्यमशीलताले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने सभापति देउवाको धारणा

बुधबार, १६ माघ २०८१, १२ : ०३

काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूको उद्यमशीलताले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन्। 

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि आयोजित नेपाल स्टार्टअप र एसएमई समिटमा सम्बोधन गर्दै उनले भने, 'यस्ता समिट र कार्यक्रमहरूले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ । नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने मेरो विश्वास छ ।' सभापति देउवाले उक्त समिटमा स्वेदशमै केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा छलफल हुने र त्यसका लागि मद्दत पुग्ने अपेक्षा गरेको बताए ।

उनले देशभित्रै कृषि, वन, जडीवुटी, पर्यटन, प्रविधि जस्ता अन्य बहुसम्भावनाका क्षेत्रहरूको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने बताए । 'गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु पर्ने अहिलेको अवश्यकता हो । 'गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउँछ', उनले भने, 'पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।'

देउवाले स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले कांग्रेसले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको बताए ।

बुधबार, १६ माघ २०८१, १२ : ०३

प्रतिक्रिया