अखिल(क्रान्तिकारी)को महासचिवमा रोशन विजयी, उपमहासचिवमा विपिनले ल्याए सर्वाधिक मत

बुधबार, १६ माघ २०८१, १६ : ३१

काठमाडौं- अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा महासचिव पदमा रोशन थापामगर निर्वाचित भएका छन्। उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएसँगै थापामगरले ५९८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी सञ्जय महतोलाई पराजित गरेका हुन्। महतोले ४१० मत ल्याएका थिए, जसअनुसार थापामगरले १८८ मतको अग्रता लिएका छन्।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राईको प्यानलका हुन् भने महतो विजयप्रकाश सापकोटा समूहका उम्मेदवार थिए।

यसैगरी, ९ जना उपमहासचिव चयन भएका छन्, जसमा कोशी प्रदेशका विपिन पोखरेलले सबैभन्दा धेरै ८३१ मत ल्याउँदै उपमहासचिवको प्रतिस्पर्धामा अग्रस्थान हासिल गरे। मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मतसहित विजयी भए। बागमती प्रदेशमा निर्मला गौतमले ८०३ मत प्राप्त गर्दै जित हासिल गरिन्। गण्डकी प्रदेशमा भगवान बास्तोलाले ७६९, लुम्बिनीमा रेशम अधिकारीले ६२८, कर्णालीमा प्रकाश अधिकारीले ६०४ र सुदूरपश्चिममा रामचन्द्र भट्टले ३९९ मत ल्याएर उपमहासचिव पदमा विजयी भए। उपत्यका विशेषबाट निरोज श्रेष्ठ तथा विश्वविद्यालय प्रदेशबाट जटिल कार्कीले समान ६४८ मत प्राप्त गर्दै उपमहासचिव पद हात पारे।

विपिन पोखरेल र निरोज श्रेष्ठबाहेक अन्य उपमहासचिव जनार्दन शर्मा समूहका हुन्।

यसअघि नै सम्पन्न मतगणनामा १२ जना सचिवमध्ये शर्मा समूहका वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भइसकेका थिए। कोषाध्यक्षमा फुलमाया राना खुशी निर्वाचित भएकी छन्।

नयाँ नेतृत्व चयनसँगै अनेरास्ववियु (क्रान्तिकारी) को आगामी रणनीति र विद्यार्थी आन्दोलनमा यसको प्रभाव कस्तो रहने भन्ने चासो बढेको छ।

 
बुधबार, १६ माघ २०८१, १६ : ३१

प्रतिक्रिया