काठमाडौं- प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को तयारीमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड ले सन् २०२४ मा २२ करोड ७० लाख रुपैयाँ आम्दानी गर्दै उल्लेखनीय व्यवसायिक प्रगति गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१.८७ प्रतिशतको वृद्धि हो। सन् २०२३ मा कम्पनीले १६ करोड रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२२ मा यसको आम्दानी १५ करोड रुपैयाँ थियो।
कम्पनी सन् २०२४ को जुलाई ९ मा निजी लिमिटेडबाट सार्वजनिक लिमिटेडमा रुपान्तरण भएको हो। काभ्रेपलाञ्चोकको पाँचखाल-७ मा रहेको आफ्नो उत्पादन प्लान्टमार्फत एलोपेथिक पशु औषधि, पशु पोषण, फिड एडिटिभ्स, वनस्पतिजन्य फिड एडिटिभ्स लगायतका पशु स्वास्थ्यसम्बन्धी उत्पादनहरू निर्माण गर्दै आएको छ।
बढ्दो मागका कारण कम्पनीको व्यवसाय निरन्तर विस्तार भईरहेको देखिन्छ। वितरक सञ्जालको विस्तार, नयाँ क्षेत्रमा विविधीकरण तथा उच्च मुनाफाका उत्पादनहरूको रणनीतिक मिश्रणले लगातार तेस्रो वर्ष कारोबार वृद्धिको प्रवृत्ति कायम राखेको छ।
कान्तिपुर फर्मास्युटिकल्सले नेपालकै पशु चिकित्सा उद्योगलाई सुदृढ गर्दै गाई–भैंसी तथा कुखुरा (पोल्ट्री) सम्बन्धी भरपर्दो औषधि उपलब्ध गराउने लक्ष्य राखेको छ। नयाँ उत्पादनहरू थपिँदै जानु र घरेलु बजारमा स्थिर माग रहनुका कारण भविष्यमा समेत व्यापार वृद्धिको सम्भावना बलियो देखिन्छ।
वित्तीय सूचक र व्यापारिक स्थायित्वलाई हेर्दा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। आगामी दिनमा आईपीओ जारी गर्ने तयारी गरिरहेको कम्पनीको मजबुत आर्थिक प्रदर्शनले लगानीकर्ताहरूको उत्साह बढाएको छ।
प्रतिक्रिया