बैंकहरूको नाफा घट्दा सरकारलाई तिर्ने आयकर पनि २.३३% ले कमी

बुधबार, १६ माघ २०८१, १८ : ०८

काठमाडाैं- वाणिज्य बैंकहरूको नाफामा आएको गिरावटले सरकारलाई तिर्ने आयकरमा पनि प्रभाव परेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा बैंकहरूले तिर्ने आयकर २.३३ प्रतिशतले घटेर १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको यही अवधिमा बैंकहरूले १२ अर्ब ६६ करोड १४ लाख रुपैयाँ कर तिरेका थिए।

बैंकहरूको कुल नाफा ३.९२ प्रतिशतले घटेर ३९ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले नाफाको ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको छ, जसअनुसार नाफामा आएको गिरावटले कर राजस्व संकलनमा असर परेको हो।

चालु आवको दोस्रो त्रैमाससम्म नविल बैंकले सबैभन्दा धेरै कर तिरेको देखिएको छ। तथ्यांकअनुसार नविल बैंकले १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ कर तिरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २१ करोड ७६ लाख, प्रभु बैंकले १ अर्ब १८ करोड ७४ लाख, ग्लोबल आइएमई बैंकले १ अर्ब १५ करोड २२ लाख, एभरेष्ट बैंकले १ अर्ब ३ करोड २० लाख, एनएमबी बैंकले ८३ करोड ५५ लाख, प्राइम कमर्शियल बैंकले ७९ करोड २३ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७० करोड ३१ लाख, हिमालयन बैंकले ६५ करोड २८ लाख, लक्ष्मी सनराइज बैंकले ५० करोड ७५ लाख रुपैयाँ कर तिरेका छन्।

सानिमा बैंकले ४५ करोड ७१ लाख, नेपाल एसबीआई बैंकले ४४ करोड ३० लाख, कुमारी बैंकले ४१ करोड ४६ लाख, कृषि विकास बैंकले ३९ करोड ५ लाख, माछापुच्छ्रे बैंकले ३४ करोड ५९ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड ७० लाख, सिटीजन बैंकले २६ करोड ८४ लाख, सिद्धार्थ बैंकले २३ करोड २४ लाख तथा एनआईसी एसिया बैंकले ६ करोड ५० लाख रुपैयाँ कर तिरेका छन्।

नेपाल बैंकको आयकर तिर्नुपर्ने रकम भने ऋणात्मक ४ करोड २५ लाख रुपैयाँ देखिएको छ।

कर कटौतीपछि वाणिज्य बैंकहरूको खुद नाफा ४.६२ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

विशेषज्ञहरूका अनुसार बैंकहरूको नाफा घट्नुको मुख्य कारण उच्च ब्याजदर, कर्जा लगानीमा संकुचन तथा लगानीकर्ताहरूको सीमित आकर्षण हो। आगामी त्रैमासमा बैंकहरूको नाफामा सुधार आउने वा नआउने भन्ने विषय बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण रहनेछ।

 
बुधबार, १६ माघ २०८१, १८ : ०८

प्रतिक्रिया