फाेटाे : रासस
काठमाडाैं- इलामको माईजोगमाई गाउँपालिकाबाट उत्पादित जडीबुटीको तेलले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउँदै गएको छ। नित्यराज दहालले १३ वर्षअघि स्थापना गरेको जडीबुटी तेल उत्पादन उद्योगबाट स्थानीय स्तरमै प्रशोधित प्राकृतिक तेलहरू अहिले विदेश निर्यात हुन थालेका छन्। विशेषगरी, फ्रान्समा यहाँ उत्पादित तेलको माग उच्च रहेको दहालले बताए।
"हाम्रो उद्योगमा गाउँमै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडीबुटीबाट तेल निकालिन्छ। हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात भइरहेको छ," दहालले भने, "निकट भविष्यमै जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतका जडीबुटीबाट तेल उत्पादन गर्ने योजना छ। नेपाली प्राकृतिक उत्पादनप्रति विदेशीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ।"
दहाल ओशोका अनुयायी हुन्। उनको उद्योगमा ध्यान गर्न आएका विदेशीहरूले यहाँ उत्पादित जडीबुटी तेल मन पराउन थालेपछि अन्तर्राष्ट्रिय माग थप चुलिएको हो। "सुरुमा विदेशीहरू सामान्य रूपमा लिने गर्थे। पछि यसको गुणकारी विशेषता बुझ्दै गएपछि माग ह्वात्तै बढ्यो। अहिले उत्पादन गरेका सबै वस्तु बिक्री भइरहेका छन्, जसले हामीलाई थप हौसला दिएको छ," उनले उत्साहित हुँदै सुनाए।
इलाममा उत्पादित जडीबुटी तेलको बजार मूल्य निकै आकर्षक छ। धूपीको तेल प्रतिकिलो रु २,५००, तीतेपातीको तेल प्रतिकिलो रु ६,०००, मेन्थाको तेल प्रतिकिलो रु ७,०००, धसिङ्गरेको तेल प्रतिकिलो रु ७,००० मा बिक्री भइरहेको छ। यी तेलहरू रुघाखोकी, घाँटी दुखाइ, चोटपटक, हाडजोर्नी तथा ढाड दुखाइका लागि विशेष प्रभावकारी रहेको बताइन्छ।
दहालले ३५ रोपनी जमिनमा विभिन्न औषधीय वनस्पतिको व्यावसायिक खेती गर्दै आएका छन्। स्थानीय किसानहरूको उत्पादनलाई समेत उचित मूल्यमा खरिद गर्दै उद्योगमा प्रशोधन गरिन्छ। धूपी प्रतिकिलो रु ८ र तीतेपाती प्रतिकिलो रु ४ मा किसानकै घरबाट खरिद गरिँदा उनीहरूलाई पनि प्रत्यक्ष लाभ पुगेको छ। "गाउँका किसानहरूले उत्पादन गरेका जडीबुटीलाई घरमै गएर खरिद गर्दा स्थानीयस्तरमा आर्थिक चलायमान भएको छ," दहालले थपे।
गाउँकै खालि जमिनको सदुपयोग गर्दै जडीबुटी खेतीलाई व्यवस्थित बनाएपछि, यो उद्योगले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ। स्थानीय बासिन्दा केशव दहालका अनुसार, "स्वदेशमै व्यावसायिक उत्पादन गर्न सकेमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हाम्रो गाउँले देखाएको छ।"
नेपालका प्राकृतिक उत्पादनहरू विश्व बजारमा पुग्दै गर्दा जडीबुटीको तेल व्यवसायले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिरहेको छ। भविष्यमा यो उद्योग अझ विस्तार हुने र थप नयाँ जडीबुटीको तेल निर्यात गरिने आशा गरिएको छ।
प्रतिक्रिया