फाेटाे : रासस
काठमाडाैं- नेपाल र बङ्गलादेशबीचको व्यापार तथा लगानी सम्बन्धलाई थप गहिरो बनाउने उद्देश्यले ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ विशेष कार्यशाला आयोजना गरेको छ। सो अवसरमा नेपालले बङ्गलादेशका लगानीकर्तालाई ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न आग्रह गर्दै दुई देशीय आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यशालामा नेपालका राजदूत घनश्याम भण्डारीले दुई देशबीचको बढ्दो आर्थिक सहकार्यबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायतका क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरू प्रस्तुत गरे। उनले नेपालबाट पहिलो पटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश निर्यात भएको उल्लेख गर्दै यस ऊर्जा सहकार्यले न केवल नेपाल र बङ्गलादेशलाई, तर समग्र दक्षिण एसिया क्षेत्रलाई समेत लाभ पुग्ने बताए।
राजदूत भण्डारीले बङ्गलादेशका व्यापारिक नेताहरूलाई नेपालको व्यापारिक समुदायसँग सहकार्य गर्न र नेपालमा उपलब्ध लगानी अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गरे। उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारजस्ता क्षेत्रहरू दुवै देशका लागि लाभदायक हुने उल्लेख गर्दै आपसी सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको अनुकूल लगानी वातावरणबारे जानकारी गराउँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजजस्ता प्राथमिकताका क्षेत्रमा बङ्गलादेशका लगानीकर्तालाई लगानी गर्न आह्वान गरे।
बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकताका विषयमा जानकारी गराउँदै आपसी लाभका क्षेत्रमा सहकार्य सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।
यस्तै, नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बङ्गलादेश उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपाल–बङ्गलादेश व्यापारिक सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले दुई देशीय आर्थिक सम्बन्धलाई दीर्घकालीन रूपमा विस्तार गर्न दुवै पक्षले गम्भीर पहल गर्नुपर्ने धारणा राखे।
नेपाल र बङ्गलादेशबीच ऊर्जा, व्यापार र लगानीका क्षेत्रहरूमा द्रुतगतिमा प्रगति भइरहेको छ। यस्तो कार्यशालाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन, लगानीकर्ताहरूलाई आकर्षित गर्न तथा पारस्परिक लाभ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया