काठमाडौं - नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ हुने भएको छ । चितवनको भरतपुरमा एक्स्पो हुन लागेको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशीलताको विकासमा सहयोग पुर्याउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो। एक्स्पोले दुग्ध क्षेत्रको वृहत् विकासकालागि साझा मञ्च प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रवर्तन र बजार विस्तार र ब्रान्ड प्रवर्द्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
एक्सपोले डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरू लाई प्रोत्साहित गर्ने उनको भनाइ छ ।किसान उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यवसायीक सञ्जालको अवसर सिर्जना गर्नु उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्त्व फाइदा तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले नेपालको डेरी उद्योगलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्नुका साथै नवप्रविधि बारे जानकारी दिन पहिलो पटक राष्ट्रिय डेरी एक्स्पोको आयोजना गरिएको बताए ।प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सह आयोजनामा हुन लागेको हो ।
यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करिब ५० वटा डेरीका परिकार देखि नयाँ प्रविधि र उद्योगका स्टलहरू रहने छन् । एक्स्पो करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दूध उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया