काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा ‘म त ढलेँ, ढलेँ’ बोलको गीत गाउँदै प्रतिपक्षी दललाई व्यङ्ग्य गरेका छन् ।
गायिका शान्तिरानी परियारले गाएको गीत स्मरण गर्दै ओलीले विपक्षी दलका नेताहरूले राजनीतिक मञ्चमा गाउन नसुहाउने बताए । यस्तै, उनले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाए । प्रधानमन्त्री ओलीले भने, ‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’
प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे । ओलीले भने,‘अझै एक जना माननीयले यो गीत श्लील भएन भनेको पनि सुनेको छु । यस्तो टिप्पणी पनि छ । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ । ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ ।
प्रतिक्रिया