चन्द्रागिरिमा सूर्ति बन्देज: गुट्खा, खैनी, चुरोट बेच्नेहरूकाे व्यापार खत्तम!

शनिबार, १९ माघ २०८१, ०६ : ५९

काठमाडाैं- चन्द्रागिरि नगरपालिकाले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्रीवितरणमा ‘कडा ब्रेक’ लगाएको छ। अब नगरपालिकाभित्र गुट्खा, खैनी, पानपराग, चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा जस्ता वस्तु किन्ने–बेच्ने, मुखमा राखेर चप्चपाउने वा धुँवा उडाउनेहरूको रमाइलो सकिएको छ।

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै प्लास्टिकको बट्टामा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री तथा वितरण पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो। नगर शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवन मानव स्वास्थ्यका लागि अत्यन्त घातक भएको उल्लेख गरिएको छ। नगरपालिकाले यो निर्णय सार्वजनिक स्थललाई सफा, स्वस्थ र प्रदूषणमुक्त बनाउने उद्देश्यसहित लागू गरेको हो।

नगरपालिकाले सार्वजनिक स्थानहरू जस्तै विद्यालय, होटेल, डिपार्टमेन्ट स्टोर, जिम, धर्मशाला, सार्वजनिक शौचालय र प्रतिक्षालयहरूमा सूर्ति सेवन गर्न नपाइने ठहर गरेको छ। नगरपालिकाको ठहर छ कि, धूम्रपान र सूर्ति सेवनको असर केवल स्वास्थ्यमा मात्र होइन, फोहरमैला व्यवस्थापन, ढल जाम, माटो प्रदूषण हुँदै सहरको सुन्दरतामा समेत नकारात्मक प्रभाव पार्छ।

विज्ञप्तिमा उल्लेख छ, सूर्तिजन्य पदार्थ सेवनकै कारण राज्यले करोडौं रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गर्नुपरेको छ। त्यसैले पहिलो चरणमा प्लास्टिक बट्टामा प्याक गरिएका गुट्खा, खैनी, पानपराग लगायतका उत्पादनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

नगरपालिकाले चेतावनी दिएको छ- यदि कसैले सूर्तिजन्य पदार्थ लुकिछिपी बेचबिखन गरेको पाइएमा नगर प्रहरीले कारबाही गर्नेछ, सामग्री जफत गरिनेछ र अधिकतम कानूनी सजाय दिइनेछ। अब चन्द्रागिरिमा गुट्खा बेच्नेहरूका लागि व्यापार ‘डाउन’, तर सहरको स्वास्थ्य ‘अप’।

शनिबार, १९ माघ २०८१, ०६ : ५९

प्रतिक्रिया