फाेटाे : रासस
काठमाडाैं- काभ्रेपलाञ्चोकको विकट डाँडापारि, खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीमा जिन्दगीको एउटा असह्य नाटक मञ्चन भइरहेको छ। यो कुनै काल्पनिक उपन्यासको कथा होइन, कुनै फिल्मको दृश्य होइन। यो त देशकै अनुहारमा खोपिएको विभीषिका हो।
चार महिना भइसक्यो, प्रकाश सिङतान आफ्नो भत्किएको घरखेतलाई हेर्दै दिन गुजारिरहेका छन्। घर थियो- अहिले बगर छ। खेत थियो- अहिले नदी छ। जुन आँगनमा कहिल्यै बालबालिकाका हाँसो घन्किन्थे, आज त्यहाँ बागमतीको क्रूर छालहरू बगिरहेका छन्।
प्रकाश सिङतान मात्र कहाँ? भक्तबहादुर, बुद्धबहादुर, देवराज, साजन, विक्रम सिङतानका परिवारहरू पनि अहिले लुइचे पाखामा त्रिपालको सहरमा आश्रय लिइरहेका छन्। बर्खामा बाढीले बगाउने डर, हिउँद लागेपछि हावाहुरीले त्रिपालै उडाउने पीर। एकातिर प्रकृतिको क्रूरता, अर्कोतिर सरकारको संवेदनहीनता!
गाउँलेहरूको एउटै प्रश्न छ- अब के गर्ने? गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ भन्छन्- “उनीहरूसँग जमिन छैन, पुनर्स्थापनाको लागि संघीय सरकारसँग समन्वय गर्दै छौँ।”
तर सरकारको कानमा पानी परेको छ, आँखा चिम्लिएको छ। सरकारले ५० हजार दिने कुरा गरेको छ, तर ५० हजारमा घर ठडिन्छ? राहतको खोक्रो नारा छ, तर पुनर्स्थापनाको योजना नभएकाे गुनासाे पीडितहरुकाे छ।
सरकारका मन्त्रीहरू सिंहदरबारमा भाषण गर्छन्- “बाढी पीडितका लागि हामी प्रतिबद्ध छौँ। पुनर्स्थापनाका लागि पहल हुँदैछ।” तर चनौटेका बालबालिकाहरू विद्यालय जान पाइरहेका छैनन्। दिनभर भोक सहनेहरू राहतको आशामा रात कटाइरहेका छन्।
सरकारलाई थाहा छ कि यहाँका मान्छे सरकारलाई सम्झेर निदाउँछन् र भोकले बिउँझन्छन्? त्रिपालमुनि पसिनाले बनेका घरहरूसँगै सपना पनि बगेका छन्? सरकारलाई थाहा छ कि त्रिपालको प्वालबाट छिरेको जाडोले मान्छेहरूसँग जिउने साहस खोस्दैछ? सरकारका मन्त्रीहरू! एक रात मात्र त्रिपालमुनि बिताएर हेर न! चनौटे नयाँ बस्तीका जनताले गुहारिरहेका छन् ।
“सिंहदरबारका सुविधा सम्पन्न कुर्सीमा बसेर नीति बनाउनेहरू, विदेशी सहयोगका नाममा राहतका घोषणा गर्नेहरू, प्रभावशाली मिडियामा फोटो खिचाएर जनताको सहानुभूति किन्नेहरू- एउटा रात मात्र त्रिपालमुनि बिताएर हेर न! रित्तो पेट लिएर निन्द्रा खोजेर हेर, प्लास्टिकको त्रिपालले कति दिनसम्म जीवन धानिन्छ, महसुस गरेर हेर।” चनौटे नयाँ बस्तीकाे सरकारलाई चुनाैती हाे ।
पीडितहरु भन्छन्- 'यदि तिमीलाई न्यायको गीत सुन्न मन लाग्छ भने, चनौटे आउनू, त्रिपालमुनि सुत्नू, बागमतीको चिसो हावाले तिमीलाई “गरिब जनताको पीडा” बडो मिहिनेतले गाइदिनेछ ! तर, यदि यो पनि नसुन्ने भए- हामीलाई भने बाँच्न सक्ने एउटा आधार देऊ, कि त बाँच्नकै आशा मेटिदेऊ!'
प्रतिक्रिया