एलन मस्कले अस्वीकार गरे नोबेल शान्ति पुरस्कार

शनिबार, १९ माघ २०८१, १२ : ४१

काठमाडौं- टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले नोबेल शान्ति पुरस्कारको लागि गरिएको मनोनयन अस्वीकार गरेका छन् । 

सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्तालाई रिप्लाई दिँदै मस्कले मनोनयन ठाडै अस्वीकार गरेका हुन् ।

उनले एक्समा पोस्ट राख्दै आफूलाई कुनै पनि पुरस्कार नचाहिएको बताए । युरोपेली संसद्का सदस्य ब्रान्को ग्रिम्सले मस्कलाई एक्समार्फत अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गरेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । मस्क लेएक्समा लेखेका छन्, 'मलाई कुनै पनि पुरस्कार चाहिँदैन ।'

आफ्नो कामको लागि कुनै पहिचान नखोजेको भन्दै अहिले मस्कको चर्चा भइरहेको छ । ब्रान्को ग्रिम्सले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गरेकोमा मस्कको प्रशंसा गरेका थिए । ग्रिम्सले मस्कले मानव अधिकारको रूपमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गरेको बताए ।

सन् २०२२ मा ट्वीटरलाई एक्समा परिवर्तन गरेपछि मस्कले विवादास्पद निर्णयहरू लिएका छन् । उनले कयौं प्रतिबन्धित व्यक्तिहरूलाई प्लेटफर्ममा फर्काएका छन् र सामग्री नियमन नीतिलाई खुकुलो बनाएका छन् । एक्सको व्यवस्थापनलाई आलोचकहरुले भने उनको नीतिले गर्दा गलत तथा भ्रामक सूचना, दुर्व्यवहार र घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) बढेको आरोप लगाएका छन् । 

नोबेल पुरस्कार विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मूल्याङ्कन गर्न दिने गरिन्छ । प्रत्येक वर्ष विभिन्न क्षेत्रका व्यक्तिहरूलाई नोबेल पुरस्कारका लागि सम्भावित उम्मेदवारहरू प्रस्ताव गर्न आमन्त्रित गरिन्छ ।

नोबेल समितिले मनोनयनका लागि आह्वान गरेपछि यो प्रक्रिया प्रत्येक वर्ष सेप्टेम्बरमा सुरु हुन्छ । मनोनयन बुझाउने अन्तिम मिति अर्को वर्षको ३१ जनवरीसम्म हुन्छ । त्यसपछि, समितिले योग्यता र विश्वसनीयताका लागि मनोनयनको जाँच गर्छ । फेब्रुअरीमा, समितिले पेश गरिएका मनोनयनहरूको समीक्षाको आधारमा प्रारम्भिक उम्मेदवारहरूको सूची तयार गर्छ ।

नोबेल समितिले मनोनित उम्मेदवारको योग्यताको बारेमा जानकारी र रायहरू लिन मार्चदेखि मेसम्म सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गर्छ । यस प्रक्रियाले समितिलाई विज्ञ सिफारिसको साथ विस्तृत रिपोर्ट तयार गर्न मद्दत गर्छ । यसलाई जुन र अगस्टको बीचमा अन्तिम रूप दिइन्छ ।

सिफारिस राम्ररी समीक्षा गरिसकेपछि समितिले अक्टोबरमा अन्तिम छनोट गर्छ । त्यसपछि छानिएका उम्मेदवारलाई त्यस वर्षको नोबेल पुरस्कार विजेताको रूपमा घोषणा गरिन्छ ।

शनिबार, १९ माघ २०८१, १२ : ४१

प्रतिक्रिया