पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा: ५१०० मिटर उचाइमा नयाँ इतिहास

आइतबार, २० माघ २०८१, ०८ : ३४

काठमाडाैं- नेपालको हिमाली भेगमा एउटा नयाँ इतिहास रचिएको छ। समुद्री सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल पुगेको छ। यो साहसिक यात्रा गत बुधबार चन्द्र माबोले सफलतापूर्वक पूरा गरेका हुन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तमोर करिडोर नेपाललाई भारत र चीनसँग जोड्ने महत्वाकांक्षी मार्ग हो। भारतको जोगबनीबाट सुरु भएर चीनको तिब्बतसम्म पुग्ने यो करिडोर हालै नेपाल–चीन सीमा ओलाङचुङगोला हुँदै टिप्ताला भञ्ज्याङसम्म विस्तार गरिएको छ। केही समयअघि मात्रै बोलेरो गाडी ओलाङचुङगोला पुग्न सफल भएको थियो, जसपछि थप २४ किलोमिटर कठिन हिमाली बाटो पार गर्दै माबो पहिलो साहसी मोटरसाइकल यात्री बनेका छन्।

फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाका अनुसार, यसअघि टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुग्न सकेको थिएन। माबोले अत्यधिक चिसो, अक्सिजनको न्यूनता, भिरालो तथा अप्ठ्यारो बाटो पार गर्दै यो ऐतिहासिक यात्रा सम्पन्न गरेका हुन्।

मोटरसाइकल यात्री चन्द्र माबो भन्छन्, "सडक कठिन छ, विशेष गरी सुकेपानीदेखि ओलाङचुङगोला खण्डसम्म यात्रा गर्न अत्यन्त गाह्रो हुन्छ। उच्च हिमाली क्षेत्रमा मोटरसाइकलको शक्ति घट्ने, अक्सिजन कम हुने र अत्यधिक चिसोका कारण चुनौती थपिने गर्छ।"

उनले थपे, "अहिलेसम्म सर्वसाधारणले टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रामा सफलता प्राप्त गरेको सुनिएको थिएन। यदि हो भने, म यो साहसिक उपलब्धि हासिल गर्ने पहिलो व्यक्ति हुँ।"

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार, यो क्षेत्र व्यापारिक केन्द्र मात्र नभएर साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यसमेत बन्न सक्छ। मोटरसाइकल यात्रा सफल भएपछि पर्यटकलाई आकर्षित गर्ने नयाँ सम्भावना देखिएको छ।

टिप्ताला भञ्ज्याङ पुग्नका लागि यात्रुहरूले मोवाटार (४२०० मिटर) हुँदै खतरनाक उकालो पार गर्नुपर्छ। यस क्षेत्रमा सडक सँघुरो तथा अव्यवस्थित छ, जसकारण गाडी तथा मोटरसाइकल चलाउन गाह्रो हुन्छ। मोटरसाइकल यात्रामा संलग्न गाडी चालक आइतराज थेबेका अनुसार, "सडकमा हिउँ जम्ने भएकाले गाडी चिप्लिने खतरा उच्च छ। सावधानीपूर्वक यात्रा गर्नु अत्यावश्यक छ।"

नेपालको उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत ट्रयाक विस्तार भएसँगै पहिलोपटक नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङसम्म पुगेको छ। यस ऐतिहासिक यात्राले स्थानीयवासीलाई ठूलो उत्साह प्रदान गरेको छ।

पूर्ववडाध्यक्ष छेतेन शेर्पा भन्छन्, "अब नेपाली गाडी तथा मोटरसाइकल टिप्तालासम्म पुग्न थालेपछि चीनसँगको व्यापारिक तथा सांस्कृतिक सम्बन्ध थप सशक्त हुनेछ।"

विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयहरूले नयाँ सडकले यातायात सहज बनाउने आशा व्यक्त गरेका छन्। भारत, नेपाल र चीनलाई जोड्ने तमोर करिडोरमार्फत विराटनगर–रानीदेखि तिब्बत जोड्ने २९२ किलोमिटर लामो मार्ग निर्माण भइरहेको छ।

यो मार्गले व्यापारिक तथा पर्यटन विकासको ढोका खोल्ने आशा गरिएको छ। हिमाली क्षेत्रका बासिन्दाहरूको जीवनयापनमा परिवर्तन ल्याउनुका साथै नेपाल–चीन व्यापार विस्तारमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

चन्द्र माबोको मोटरसाइकल यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, हिमाली क्षेत्रमा यातायातको नयाँ सम्भावना खोल्ने कोशेढुंगा पनि हो। कठोर हिमाली चुनौती पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पु¥याउने यो साहसिक यात्राले नेपालको पर्यटन र व्यापारिक भविष्यमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

आइतबार, २० माघ २०८१, ०८ : ३४

प्रतिक्रिया